Sunday, March 1, 2020

म्याग्दीमा दादुरा रुवेला विरुद्दको खोप अभियान चैत्र १० देखि सुरु हुने

                       म्याग्दीमा पनि दादुरा रुवेला विरुद्दको खोप अभियान यहि २०७६ चैत्र १० देखि २९ गतेसम्म संचालन हुने भएको छ । यो अभियान अन्तरगर्त देशभरका ९ महिनादेखि पाँच वर्ष भित्रका करिब ३० लाख बालबालिकालाई खोप दिइन लागिएको छ । पहिलो चरण अन्तर्गत फागुन महिनामा प्रदेश नम्बर १, २ र ५ का ३५ जिल्लाका १८ लाख २४ हजार ४ सय ३३ बालबालिकालाई खोप लगाईदै छ भने दोस्रो चरण अन्तर्गत चैत महिनामा प्रदेश नम्बर ३, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका ४३ जिल्लाका ११ लाख ५७ हजार ७ सय ७१ बालबालिकालाई दादुरा विरुद्धको खोप लगाउने उद्देश्य छ। त्यस्तै म्याग्दीमा पनि ९ महिनादेखि ५९ महिनासम्मका ९,९५३ जना बालबालिकाहरुलाई दादुरा रुवेला खोप लगाउने उद्देश्य रहेको स्वास्थ्य कार्यालय प्रमुख एक नारायण लम्सालले योजना तर्जुमा गोष्ठीमा जानकारी गराउनु भएको थियो ।

बाल मृत्युको कारण मध्ये दादुरा एक प्रमुख कारण हो ।

अभियान सन्चालको तयारीमा स्वास्थ्य कार्यालय म्याग्दीले फागुन १८ र १९ धौलागिरी गाउपालिका, मालिका गाउपालिका र मंगला गाउँपालिकाको संस्था प्रमुखहरुलाई योजना तर्जुमा गोष्ठी सुरु गरेको छ भने फागुन २० र २१ गते बेनी नगरपालिका, अन्नपूर्ण गाउँपालिका, रघुगंगा गाउँपालिकाको संस्था प्रमुखहरुलाई योजना तर्जुमा गोष्ठी सन्चालन गर्नेछ ।

म्याग्दीमा अभियान संचालन मिति :
धौलागिरी गाउपालिका, मालिका गाउपालिका र मंगला गाउँपालिका = चैत्र १० देखि १९ सम्म
बेनी नगरपालिका, अन्नपूर्ण गाउँपालिका, रघुगंगा गाउँपालिका = चैत्र २० देखि २९ सम्म 

दादुरा रुवेला के हो ?
दादुरा अति छिटो सर्ने संक्रामक रोग हो, जुन मिजल्स भाईरसको कारणबाट हुन्छ । रुबेला पनि भाइरस (रुवेला भाईरस) कै कारणवाट हुने दादुरा जस्तै देखिने संक्रामक रोग हो । यी रोगहरू सामन्यतया ५ वर्ष मुनिका बालबालिकामा धेरै लाग्दछ र छिट्टै महामारीको रुप पनि लिन सक्दछ । बालबालिकामा दादुराको संक्रमण भएमा गम्भिर प्रकारका जटिलताहरू हुनका साथै मृत्यु समेत हुन सक्छ ।

प्रमुख चिन्ह-लक्षणहरूके के हुन ?
- ज्वरो आउनु र शरीरमा राता विमीरा देखा पर्नु
- रुघा खोकीको लक्षण चिन्हहरू (नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने, आँखा पाक्ने आदि जस्ता)
- रोगीको सम्पर्कमा आएको १०–१२ दिन पछि मात्र दादुराको लक्षण (ज्वरो) देखा पर्दछ भने १२ देखि २३ दिन पछि रुबेलाको लक्षण देखा पर्दछ

दादुरा–रुबेला रोगको भएमा के के जटिलता हुन सक्छ?
दादुराबाट हुने जटिलताः आँखाको अन्धोपना, पखाला लाग्ने, कानको संक्रमण, न्यूमोनिया, मस्तिष्कमा कडा खालको संक्रमण (encephalitis), कम्पन
रुवेलाबाट हुने जटिलता: हाडजोर्नीहरु सुन्निने वा दुख्ने, मस्तिष्कमा कडा खालको संक्रमण (encephalitis), गर्भपतन हुने वा मृत शिशु जन्मने, जन्मदै हुने विकलाङ्ग (CRS– अन्धोपना, बहिरोपना, मुटु र मस्तिष्कमा विकृति आदी), रगत जम्ने क्षमतामा कमि (रक्तस्राव) आदि
यस्ता जटिलताको कारण मृत्यु समेत हुन सक्छ ।

दादुरा–रुबेला रोगवाट बच्ने एक मात्र उपाय दादुरा–रुबेला विरुद्धको खोप लिनु नै हो ।

दादुरा रुबेला रोग लागे पछि यसको खास उपचार छैन । तर यस्तो रोग लागेमा अरुलाई सर्नबाट बचाउन बिरामीलाई अलग्ग राख्नुका साथै स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा तत्कालै गई लक्षण अनुसार र जटिलताकोे उपचार गर्नु पर्दछ  । यसका साथै बिरामीलाई भिटामिन ए अनिवार्य रुपमा खुवाउनु पर्दछ ।

त्यसैले यो रोगबाट बचाउन नियमित खोप मार्फत बालबालिकालाई ९ र १५ महिनाको उमेरमा दादुरा–रुबेला खोपको दुई मात्रा लगाउनु पर्दछ ।

९ महिना देखि ५ वर्षमुनिका सबै बालबालिकालाई नछुटाई खोप लगाऔं !

Source :
- https://www.unicef.org/nepal
- https://www.setokhari.com/health/1716
साभार : https://www.unicef.org/

No comments:

Post a Comment