Tuesday, May 7, 2019

बच्चालाई रुघाखोकीबाट बचाउने उपाय

                रुघाखोकी एक प्रकारको सामान्य रोग हो। बयस्कको तुलनामा बच्चाहरु रुघाखोकीको बढी जोखिममा हुन्छन्। किनभने उनीहरुको प्रतिरक्षात्मक प्रणाली बयस्कको जस्तो विकसित भइसकेको हुँदैन। प्रायः बच्चालाई वर्षको ६ देखि ८ पटकसम्म रुघाखोकी लाग्नेगर्छ। तर, विद्यालय जाने बच्चामा त अझ धेरै पटक लाग्छ। किनभने सानो ठाँउ र नजिकको सम्पर्कमा यो रोग सजिलै फैलिन्छ।

शरीरको प्रतिरक्षात्मक प्रणालीको विस्तारै विकास हुने भएकोले ६ वर्षपछि रुघाखोकी लाग्न कम हँुदै जान्छ। हुनत, बाह्रैमास रुघाखोकी लाग्नसक्ने भए तापनि जाडो र मौसम परिवर्तन हुने समय अलि बढी रुघाखोकी लाग्छ। किनकी यो समयमा बच्चाहरु प्रायः घरभित्रै बस्छन् र यो बेला रुघाखाकी लगाउने किटाणु (भाइरस) धेरै हुन्छन्।

सानो ठाँउमा (घरभित्र) एक जनालाई रुघाखोकी लाग्यो भने यो सजिलै फैलिन्छ। जाडो मौसममा हावामा हुने आद्र्रता (ह्युमिडिटी) पनि कम हुन्छ, जसले नाक सुक्खा बनाउँछ र रुघाखोकीको जोखिम बढ्छ। रुघाखोकी भाइरस भन्ने किटाणुहरुले गराउँछन्, जसले नाक र घाँटीमा संक्रमण गर्छ। रुघाखोकी लागेको व्यक्तिको सम्पर्कमा आउँदा बच्चामा रुघाखोकी सर्छ र वातावरणमा २ सयभन्दा धेरै फरक किसिमका रुघाखोकी लगाउने भाइरस छन्।


माध्यम के हो?
जब रुघाखोकी लागेको व्यक्तिले हाच्छियूँ वा खोक्छन्, भाइरस सानो मात्रामा हावामा फैलिन्छ। त्यसपछि यदि बच्चाले त्यस हावामा श्वास लियो भने भाइरस नाकाबाट श्वास नलीमा जान्छ। अर्को माध्यम हो, प्रत्यक्ष सम्पर्क। यो सबैभन्दा बढी रुघाखोकी लाग्ने सामान्य माध्यम हो।

संक्रमित व्यक्तिलाई छोएर, हात नधोई नाक, आँखा, मुख छोयो भने यो भाइरस सर्छ। र, प्रायः स–साना बच्चाले आफैं हात धुन सक्दैनन् र उनीहरुमा सजिलै भाइरस फैलिन्छ। भाइरस वस्तुहरु (रुघाखोकी लागेको व्यक्तिले छोएको खेलौना) को माध्यमबाट पनि फैलिन्छ।

लक्षण के हो?
बच्चामा यसको लक्षण रुघाखोकी भाइरस शरीरमा आएको एकदेखि तीन दिनसम्म देखिन्छ। प्रायः बच्चा एक हप्तामा ठिक हुन्छन्, तर कहिलेकाहीं दुई हप्ता पनि लाग्नसक्छ। सबै बच्चामा हुने लक्षणहरु अलिअलि फरक हुन्छन्। दुई वर्ष मुनिका बच्चामा सुत्न कठिनाइ हुने, खोकी लाग्ने, झिँझो मान्ने, नाक बन्द भएर सुत्न गाह्रो हुने, बान्ता, झाडा र ज्वरो आदि देखा पर्नसक्छ।

त्यस्तै अलि ठूला बच्चामा आँखा रसाउने, टाउको दुख्ने, मन्द ज्वरो आउने, शरीर दुख्ने, नाकबाट पातलो पानी बग्ने, विस्तारै बाक्लो हुने तथा पहेंलो र हरियो हुँदै सुक्नेगर्छ।

उपचार के हो? 
प्रायः बच्चाहरु आफैं ठिक हुन्छन्। यसको मतलब भाइरसको आफ्नै समय हुन्छ, त्यस समयपछि आफैं ठिक हुन्छ। एन्टिबायोटिक्सले भाइरस संक्रमणविरुद्ध काम गर्दैन। उपचारको विधि बच्चाका लक्षणलाई कम गर्नमा केन्द्रित हुन्छ। जस्तै–

– ज्वरो आएमा ज्वरो कम गर्ने औषधि दिने, पानीले निधार, काखी, खुट्टा पुछ्ने।

– खानामा पर्याप्त मात्रामा झोलिलो पदार्थ जस्तैः पानी, जीवनजल, स्याउको रस, मनतातो सुप (झोल खानेकुरा) दिने। यसले शरीरमा पानीको मात्रा कम हुनबाट जोगाउँछ। यतिबेला बच्चाको खाने रुचि पहिलेभन्दा घट्छ।

– बच्चालाई पर्याप्त आराम गराउनुपर्छ।

– बन्द नाक खुलाउनका लागि नुनपानी नाकमा हाल्ने, नुनपानी औषधिको रुपमा सजिलै पाइन्छ र पटकपटक हाल्नुपर्छ, किनभने यसले घाँटीको सिँगान पातलो गर्छ, साथै नाक खुल्छ र बच्चाहरु राम्रोसँग सुत्न सक्छन्।

– ६ वर्षभन्दा मुनिको बच्चामा रुघाखोकीको औषधि डाक्टरको सल्लाहबिना आफैं किनेर खुवाउनु हुँदैन।

– धुवाँ (सिगरेट, आगो, कोइला, भान्सा) बाट टाढा राख्नु पर्छ किनभने धुवाँले नाक र घाटीमा असजिलो पार्छ ।

– बच्चालाई आराम गराएर राख्नुपर्छ। ज्वरो आउन बन्द भएको २४ घन्टापछि मात्र घरबाट निकाल्दा राम्रो हुन्छ।

– यदि घरमा हिटर, एसी प्रयोग हुन्छ भने साथमा ह्युमिडिफायर पनि प्रयोग गर्नु जरुरी छ। यसले कोठाभित्रको ह्युमिडिटी मिलाउँछ र राति श्वास लिन सजिलो बनाउँछ।

– रातिराति लाग्ने खोकीको लागि मह उपयोगी हुनसक्छ। तर मह १ वर्षभन्दा माथिको बच्चालाई मात्र खान दिनुपर्छ।

खतरा के हुन सक्छ?
कहिलेकाहीं रुघाखोकीको कारण कानको संक्रमण, पिनास र निमोनिया हुनसक्छ । यसबेला डाक्टरको सल्लाह र उपचारको जरुरी पर्छ।

रोकथाम कसरी गर्ने? 
– बच्चालाई रुघाखोकीबाट बचाउन रुघाखोकी लागेको मानिसबाट टाढा राख्नुपर्छ।
– घरमा कसैलाई रुघाखोकी लागेमा मास्क लगाउनुपर्छ।
– खानु अगाडि वा शौचालय गएपछि, खेलेर सकेपछि, खोकेपछि, हाच्छियूँ गरेपछि सबैले हात धुनुपर्छ। पानी नभएको खन्डमा हातमा संक्रमणबाट बचाउने झोल हातमा लगाउनुपर्छ।
– बच्चालाई घरीघरी आँखा, नाक, मुख छुनुहुन्न भनेर सिकाउनुपर्छ।
– समयसमयमा बच्चाले खेल्ने खेलौना र सामान सफा गर्ने (प्रायः स्कुलमा जहाँ धेरै बच्चा सँगै खेल्छन्)।
– घर सफा गर्दा फेनोल,  लाइजोल प्रयोग गर्नाले भाइरस फैलनबाट जोगाउँछ।

[ साभार : स्वास्थ्य खबर पत्रीकाबाट डा सुजीता भण्डारीको लेख ]

No comments:

Post a Comment