Tuesday, October 2, 2018

जब रोकिन्छ धड्कन, तब मन रुन्छ स्वास्थ्यकर्मीको

                        यो संसारको रित नै यस्तो जन्मेपछि एक-न-एक दिन मर्नुपर्ने, फरक यति हो कोही चाँडै कोहि ढिला। मैले लेख्न खोजेको यो लेखमा पनि यस्तै भएको छ। कल्पना नै गर्न नसकिने , सम्झदा पनि मनै चसक्क पार्ने। कुरा मिति २०७५-०६-१३ गतेको, जुन दिन एउटा आमाले आफ्नो बच्चालाई यो धर्तीमा जन्म दिएर १४ दिनमा नै यो संसार छोडेकि थिईन्। बाँच्न लेखेको भए केही न केही उपाय आउछ, जब मर्न लेखेको छ तब कसैको केही उपाय नलाग्दो रहेछ। आज पनि यही सोचिरहेको छु।

समयले भ्याएसम्म म हिड्डुल गर्न नसक्ने वा सिकिस्त विरामीहरुलाई घरमै गएर सेवा दिने गर्छु। यस्तै उहाँलाई पनि घरमै गएर पटक-पटक सेवा गरेको थिएं। उहाँ नाताले मेरो माईजु पर्नु हुन्छ। नरमल डेलिभरी भएको दुई दिनमा उहाँलाई अचानक ज्वरो आएछ। उहाँको श्रीमान मलाई फोन गरेर साँझमा घर आउन भन्नु भयो। घर अलि टाढा रहेकोले म भोली बिहान आउछु, अहिलेलाई पेनकिलर औषधी लिएर जानुस भनेर सल्लाह दिए। भोली बिहानै जाँच्ने सामानहरु, औषधी झोलाभरी बोकेर गएं। जाँच्दा ब्लड प्रेसर सामान्य, ज्वरो अलिकति बढि थियो। इन्फेक्सन हुन सक्छ भनेर समान्य एन्टिबायोटिक  र पहिलेको पेनकिलर खान र थप केही समस्या देखा परेमा फोन गर्न सल्लाह दिदै म आफ्नो बाटो लागे।

साँझ फोन गर्दा उहाँको अवस्था ठिक भएको जानकारी पाएं। भोलीपल्ट बिहानै स्वास्थ्य संस्थाको औषधी लिने उद्देश्यका साथ म सदरमुकामतिर लागे। केही दिनपछि स्वास्थ्य संस्थामा गएर एउटा सलाईन लगाउनु भएछ। संस्थाबाट सिस्टरहरुले पनि नजिकैको सरसँग सम्पर्कमा रहनुहोला भन्नु भएको रहेछ। र मसँग पनि बारम्बार सम्पर्कमा रहनुहुन्थ्यो। मैले पनि बेलाबेलामा सम्पर्क गरेर अवस्था बुझ्दथे।

यसै क्रममा मिति २०७५-०६-०९ गतेका दिन साँझ ६:३० बजेतिर उहाँको श्रीमान "आत्मविश्वासको लागि भएपनि झाँक्रिको भनाई अनुसार पात्लो फल्नुपर्ने भयो भान्जा भन्दै" पसलमा चक्लेट, विस्कुटलगाएतका समानहरु किन्न आउनु भएको थियो। त्यतिखेर सम्म उहाँको अवस्था राम्रो छ, अलिअलि जिउ दुखेको छ भन्दै हुनुहुनथ्यो। करिब राती १० बजेतिर म सुतिरहेको थिएं। अचानक बहिरबाट बोलाएको आवाज आयो। उठेर बाहिर आउदा उहाँहरुलाई नै देखे र झसंग भएं। के भयो? भनेर सोध्दा अचानक ढलेको (बेहोस भएको) भन्नु हुन्थ्यो। म पनि हतारहतारमा सामानहरु तयार गरे अनि मोटरबाटोसम्म झरे। माथिको बल्ड प्रेसर ५०भन्दा कम थियो, हातखुट्टा चिसो थियो। तुरुन्तै सलाईन जोडे र यस्तो अवस्थामा त हो नी स्वास्थ्यकर्मीको दायित्व निभाउने भन्ने मनसायक साथ दरबाङ्गतिर जिपमा बाटो तय गर्यो। जिउ विस्तारै तातिदै आयो। उहाँभने बेहोसजस्तै हुनुहुन्थ्यो।

करिव ११ बजेतिर हामी दरबाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा पुग्यौ। त्यहाँ पुग्दा बल्ड प्रेसर १२०/६०mmofHg भइसकेको थियो। SPO2 घटेको हुनाले अक्सिजन दियौ। ईसिजी गर्दा नरमल थियो। डा.कृष्ण र डा.तिलकले पोखरा जान सल्लाह दिनु भयो। तर एकपटक बेनी जिल्ला अस्पतालमा पस्न भन्नुभयो। लामो यात्रा छ डा.साप बेनीसम्म मपनि जान्छु भनेपछि उहाँले ड्रिप पनि लगाउने र एमबु ब्याग पनि दिनुभयो।


Photo By Tejin Fagami
बेलाबेलामा भाईटल जाँच गर्दा नरमल नै भेटिन्थ्यो। उहाँभने बेहोसजस्तै हुनुहुन्थ्यो। करिब ३ घण्टाको यात्रा पछि हामि करिब ४ बजे तिर म्याग्दी जिल्ला अस्पतालमा पुग्यौ। त्यहाँ निश्मा भण्डारी बहिनी नाईट्स् ड्युटीमा रहेछिन। उनले हतारहतारमा डाक्टरलाई बोलाईन्। दरबाङ्गबाट लगेको रेफरल कागज बुझाए। तुरुन्तै अक्सिजन लगाईयो। डाक्टरले जाँच गर्नु भयो, जाँचपछि प्रिप्युरल सेप्सिस वा इक्लेम्सिया हुनसक्छ भन्नुभयो। पोखरा रिफर गर्ने तयारी गर्यो। करिब ४:४५ तिर  त्यहाँबाट एम्बुलेन्समा पोखरा पठाईयो। राजु अंकल र म दुईजना बेनीबाट नै घर फर्कियौ । पछि फोन गर्दा पोखरा गण्डकी मेडिकल कलेजमा आईसियुमा राखेको बताउनु भयो। ठाउँमा नै पुग्नु भएछ, सायद अवस्था राम्रै हुन्छ होला भन्ने आश थियो।
साँझ मामालाई फोन गरे उसतै अवस्था छ भन्नु भयो। अर्को दिन बिहान फोन गरे रगत चढाउनु पर्छ रगत लिन आएछु भन्दै हुनुहुन्थ्यो। साँझ फोन गर्दा कलेजोमा समस्या देखिएको छ भन्नुभयो। अवस्थामा सुधार नआउदा मलाई पनि मनभरी दु:ख लागेको थियो। अन्त्यमा, २०७५-०६-१३ गते बिहानै २:३० बजे उहाँले यो संसार छोडेको भन्ने खबर पाएँ। मनभरी अमिलोपना छायो। ति बच्चा पनि १४ दिनमै आमाबाट टाढा भईन्। गाउँभरी रुवाबाँसी चल्यो। उहाँको यो निधनमा प्रयासरत सबै स्वास्थ्यकर्मीहरुको मन रोयो। अलविदा माईजु।

[ उहाँलाई बचाउन धेरै कोशिस गर्नुहुने दरबाङ्ग प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला स्वास्थ्य कार्यालय, गण्डकी मेडिकल कलेजका सम्पुर्ण टिमलाई धन्यवाद, रातभरी नसुतिकन देविस्थानबाट बेनीसम्म पुर्याउनुहुने राजु अंकललाई पनि धन्यवाद, तेजिन्द्र फगामी मित्जुलाई पनि धन्यवाद। ]

1 comment: