Friday, June 2, 2017

हर्ट अट्याक र यसबाट बच्ने उपायहरु

तेजिन्द्र राना मगर
प्रमुख, देविस्थान स्वास्थ्य चौकी

हर्ट अट्याक, जस्लाई नेपाली भाषामा 'हृदयाघात' भनिन्छ भने चिकित्सकिय भाषामा मायोकार्डियल इन्फाक्सन (Myocardial Infarction) भनिन्छ। हर्ट अट्याक मानिसको ज्यानै लिन सक्ने खतरनाक मुटुको रोग हो। यो रोग विशेष गरि वृद्दावस्थामा धेरै हुने गर्दछ। आधुनिक जिवनशैलीसँगै हृदयाघात हुने विरामीको संख्यामा वृद्दि हुँहै गईरहेकोछ भने उपचारमा पनि नयाँ प्रविधिले फन्को मारिसकेको छ। विश्वमा हुने मानव मृत्यु मध्ये २५ देखि ३५ प्रतिशत कारण हर्ट अट्याक रहेको पाईन्छ।




हामी सबैलाई थाहा छ, मुटुले हाम्रो शरीरका सबै भागमा रक्तसन्चार गर्ने कार्य गर्दछ। बिस्तारै रक्तसन्चार गर्ने धमनीहरुमा बोसोयुक्त पदार्थ, क्याल्सियम, प्रोटिन र कोषको सुजनको कारणले रगतको प्रबाह रोकिन्छ वा एकदमै कम गतिमा रगत प्रवाह हुन्छ। रक्त प्रबाह रोकिएपछि मुटुका मांशपेशीहरुमा अक्सिजनको कमी हुन्छ। कारणस्वरुप मुटुका मांशपेशीहरुले आफ्नो नियमित काम गर्न नसकि विभिन्न लक्षणहरु देखिन्छ। यसैलाई हर्ट अट्याक वा हृदयाघाट भनिन्छ। हर्ट अट्याक हुने प्रमुख कारणहरुमा बिलासी जीवनशैली, मोटोपना, मसलाद्दार, बोसोयुक्त खानेकुरा, धुमपान तथा सुर्तीजन्य पदार्थको प्रयोग, नियमित शारीरिक ब्यायामको अभाव आदि हुन। हर्ट अट्याक बंशाणुगत गुणका कारण पनि हुन्छ।

हर्ट अट्याकका लक्षणहरु प्राय: अकस्मात हुने गर्दछ। छातीको बिच भागमा वा बायाँतिर दुख्ने वा पोलेजस्तो अनुभव हुने, दबाब भएको महसुस हुने, पसिना आउने, वाकवाकी लाग्ने, वान्ता हुने, डर लाग्ने, रिंगटा लाग्ने, छट्पटी हुने, मुटु छिटोछिटो ढुकढुक गर्ने, असामान्य थकान महसुस हुने, सास फेर्न गाह्रो हुने आदि लक्षणहरु देखिन्छ। हर्ट अट्याकको समयमै उपचार पाउन सकेमा धेरै मानिसहरुलाई मृत्युबाट जोगाउन सकिन्छ। यसको प्रमुख प्राथमिक उपचार भनेको शंका लाग्ने बितिक्कै वा हर्ट अट्याक भएको थाहा पाएपछि 'एस्पिरिन' औषधी सेवन गर्नु हो। यदि घरमा कसैलाई हर्ट अट्याकको जोखिम भएमा यो औषधी राख्नु नै राम्रो हुन्छ। हर्ट अट्याक भएमा बिरामीलाई औषधी दिएर वा शल्यक्रियाबाट उपचार गरिन्छ। बिरामीको बन्द भएको मुटुको अवस्था पत्ता लगाउन कोरोनरी एन्जियोग्राफी (मुटुको एक्सरे) गरिन्छ र एन्जियोप्लाष्टि मर्फत साँघुरो वा बन्द भएको धमनीलाई खोलिन्छ ।

हर्ट अट्याकबाट बच्ने उपायहरु
१. नियमित ब्यायाम तथा योगा अभ्यास गर्ने
२. नुन, मसलाद्दार, बोसोयुक्त, तारेको, भुटेको खानेकुरा कम सेवन गर्ने
३. सन्तुलित भोजनको आहार गर्ने जस्तै: रेसादार, फलफुल, हरियो सागपात
४. मोटोपना घटाउने
५. धुम्रपान तथा सुर्तीजन्य पदर्थाको सेवन नगर्ने
६. मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्टेरोलजस्ता रोगहरु भएमा नियन्त्रणमा राख्ने
७. अनावश्यक मानसिक तनाब नलिने

हर्ट अट्याक ज्यानमारा रोग हो। मनिसलाई लाग्ने मुटुसम्बन्धी रोगहरुमध्ये यो सबैभन्दा खतरनाक रोग हो। यो रोगले कुनैपनि समयमा आक्रमण गर्नसक्ने भएकाले सम्भावित ब्यक्तिहरुले सजगता अपनाउनु पर्दछ। यो रोग भैसकेपछि समयमा नै अस्पताल पुर्याउन सके ज्यान जोगाउन सकिन्छ। त्यसैले यसको बारेमा हामी सबैले जानकारी लिन र दिन अति आवश्यक छ।

No comments:

Post a Comment