Friday, July 1, 2016

सर्प डसाई र यसबाट बच्ने तरिकाहरु

            केही दिन आगाडीको कुरा हो, साँझ करिब ८ बजे तिर खाना खाने तयारीमा थियौ। बनमा बाख्रा चराउने क्रममा सर्पले डस्यो भन्दै एक जना महिला आउनुभयो। उहाँले बाखालाई लखेट्न झार उखेल्न खोज्दा झारभित्र बसेको सर्पले डसेको बताउनु भयो। सर्पले उहाँको दायाँ हातको बुढीऔलामा डसेको थियो, डसेको ठाउँमा घाउँ बनेको थियो अनि हात एकदम सुन्निएको थियो। त्यसपछी तत्कालै हामी परामर्श र उपचार तर्फ लाग्यौ। यस्तै सर्प डसाईका घट्ना तपाई हाम्रो समाजमा मुख्यत: यो गर्मीयाममा धेरै सुनिन्छन्। त्यसैले सर्प डसाईको बारेमा आवश्यक कुराहरु सबैले जानिराख्नु आवश्यक छ।


पाई हामी सबैलाई थाहा छ, सर्प एक घस्रने प्रजातीको जीव हो। नेपालमा करिब ७९ प्रजातिका सर्पहरु पाइन्छन्, जसमध्ये २१ थरिका विषालु सर्पहरू (करेतको ५ प्रजाति, कोब्राको ३ प्रजाति, कोरलको १ प्रजाति र भाइपरको १२ प्रजाति) पाइन्छन्। पहाड र हिमालको तुलनामा तराइमा सर्पदंशको घट्ना एकदम बढी हुने गर्दछ। विश्वमा करिब ५५ लाख मानिसलाई प्रत्येक वर्ष सर्पले डस्ने गर्दछ जसमध्ये २० हजारदेखि १ लाख २५ हजार जनासम्मको मृत्यु हुने गरेको छ। नेपाल स्वास्थ्य सेवा विभागको तथ्याङ्कअनुसार नेपालमा हरेक वर्ष करिब १५,००० सर्पदंशका घटना हुने गर्दछ र त्यसमध्ये ८५ देखि १२० जनाले ज्यान गुमाउने गरेका छन्।

टोक्ने सबै सर्पहरु विषालु हुँदैनन्। करिब ७० देखि ८० प्रतिशत सर्पहरूको टोकाई विष नलाग्ने खालको हुने गरेको एक तथ्यांकले देखाएको छ । यदि बिषालु सर्पले तोकेको नै भएतापनि त्यसमध्ये आधा जतिले मानव शरीरमा विष छोड्न पाएको हुँदैन्। विषालु सर्पको विष ३ प्रकारको हुन्छ : हेमोटक्सिन (रगतमा असर गर्ने), न्यूरोटक्सिन (स्नायू तन्तुमा असर गर्ने) र मायोटक्सिन (मांसपेशीमा असर गर्ने)। सर्पले डसेको विरामीमा यही विषको आधारमा लक्षणहरु देखा पर्दछ। सामान्यतया सर्पले डसेमा : डसेको चिन्ह हुने, सुन्निने, दुख्ने, निलो हुने, रगत बग्ने, लिम्फनोडहरु बढ्ने, हातखुट्टा झमझमाउने, चक्कर लाग्ने, बान्ता आउने, पेट दुख्ने, सम्पूर्ण शरीर दुख्ने, छट्पटाउने, सास फेर्न गाह्रो हुने, बेहोस् हुने आदि लक्षणहरु देखिन सक्छ।




कुनैपनि सर्पको डसाईबाट मानिसको तुरुन्त मृत्यु हुँदैन। सर्पको विष शरीरमा फैलन अलि समय लाग्ने भएको हुनाने मृत्यु अलि ढिला हुन्छ। तर कतिपय मानिसहरु धेरै आत्तिएर, डराएर हृदयाघात भइ चाँडै मर्छन भने कतिपय अविषालु सर्पले टोकेर पनि अकालमै ज्यान गुमाउने गरेका छन्। त्यसैले तनाव कम गर्न बिरामीलाई सान्त्वना दिनु नै सबैभन्दा पहिलो र उत्तम उपाय हो। यदि बिरामीले कस्सिएको लुगा लगाएको छ भने फुकालेर खुकुलो पारी दिनुपर्दछ।  टोकेको ठाउँ वरपर तल्लो जोर्नीदेखि माथिल्लो जोर्नीसम्मको भागमा २ औला छिर्ने गरी खुकुलो व्यान्डेज वा कपडाले बेर्ने र टोकेको अङ्ग वा भाग हल्लिन दिनु हुँदैन्। सर्पले डसेको बिरामी यदि बेहोस छ भने पानी पिउन दिनु हुँदैन किनभने पानी खान खोज्दा पानी विरामीको फोक्सोमा छिर्न सक्दछ र बिरामीको तत्काल म्रुत्यु हुन्छ। सर्पले डसेपछि सर्पको प्रतिविष अर्थात एन्टी स्नेक भेनम नै यसको एकमात्र उपचार हो। त्यसैले समयमै अस्पताल वा सर्पदंश उपचार केन्द्रमा लानुपर्दछ।

सर्पको डसाई वा टोकाईबाट बच्ने तरिकाहरु :
१. सर्पको आहार मानिस होईनन् र यसले मानिसलाई हत्तपत्त टोक्दैन पनि त्यसैले सर्पलाई चलाउने, जिस्काउने, समात्न खोज्ने गर्नु हुँदैन्।
२. सर्प प्राय साँझ वा रातीको समयमा आहारको लागि निस्कने गर्छ त्यसैले रातमा हिड्डा टर्च बोकेर, रबरको बुट तथा बाक्लो पाइन्ट लगाएर हिड्ने गर्नु पर्छ।
३. बच्चा खेल्ने स्थान वा घर वरपर झारहरु भएमा हताउने, प्वालहरु भएमा पुर्ने गन्नु पर्दछ साथै प्वालहरुमा जथाभावी हाटखुट्टा पसाउनु हुँदैन्।
४. ढुंगा, काठ, ईटाहरु उचाल्दा विशेष सावधान रहनु पर्छ।
५. सर्पहरुले मरेको जस्तो नक्कल गर्ने हुँदा त्यसलाई हातले चलाउनु हुँदैन। यदि चलाउन परेपनि लामो लठ्ठीको प्रयोग गर्नुपर्दछ।
६. सर्पको आहार भ्यागुता, मुसा, छेपारो आदि भएकोले तिनीहरुलाई घरभित्र पस्न र बस्न दिनुहुँदैन् ।
७. सकेसम्म जमिनमा सुत्नु हुँदैन्। खाटमाथि सुत्दाखेरी राम्रो सँग झुल लगाएर मात्र सुत्नु पर्छ।
८. सर्पको बढी पाइने ठाउँमा सकभर एक्लै हिड्नु हुँदैन।
९. सर्पका बारेमा केटाकेटीलाई पूर्ण जानकारी गराउनुपर्छ र टोकी हालेमा तुरुन्त खबर गर्नु भनी सिकाउनु पर्छ।
१०. सर्पको डसाईमा गरिने प्राथमिक उपचार वा हेरचाह बारे नजिकैको स्वास्थ्य संस्थाबाट जानकारी लिनुपर्दछ।

अन्तमा, यो बढ्दो गर्मी तथा बर्षादसँगै सर्प डसाईको प्रकोप बढी हुने भएकाले विशेष सावधान अपनाउन आवश्यक छ। म्याग्दी विकासको दृष्टिकोणले पहिलेको तुलनामा अगाडी बढे तापनि अझै गलत धारणाहरुले जरो गाडेको अवस्था नै छ। सर्प डसाईसँग सम्बन्धित धेरै गलत धारणाहरु समाझमा अझै छन्। त्यसैले हामीहरु सबै मिलेर जनचेतना जगाई सर्प डसाईबाट अकालमा हुने मृत्युबाट बाँच्नु र अरुलाई पनि बचाउन आवश्यक छ।  साथै सर्पको प्रकोप भएको तराईका जिल्लाहरुमा सरकारले सर्पसम्बन्धी जानकारीमुलक कार्यक्रम ल्याउनु र उपचारका लागि उचित व्यबस्था मिलाउनु अति आवश्यक छ।

No comments:

Post a Comment